अरु भाषा प्यारो लाग्ने मलाई, जब आफ्नै मातृभाषाको महत्व बुझे


इन्दु थारु ।। गाउँघरबाट आउनुहुने पाहुनाहरुले थारु भाषामा कुरा गर्न खोज्थे । थारु बुझे पनि थारुमै फर्काउन आउदैनथ्यो मलाई । अनि जवाफ खस नेपाली भाषामा दिन्थे । आमाबुवाले मुस्कुराउदै भन्नुहुन्थ्यो सानैदेखि शहरमा बस्यो, थारु अलिअलि बुझ्छ, बोल्न चाहि आउदैन । आफ्नो सन्तानलाई मातृभाषा आउदैन भनिरहदा मेरा अभिभावकलाई गिल्टी हुनपर्ने हो तर उल्टै गर्व पो गर्नुहुन्थ्यो । मैले पनि थारु नजानेकोमा गर्व गर्न थाले । अलिअलि जानेको थारु पनि केही नजाने जस्तो अभिनय गर्न थाले ।
अन्य भाषा सिक्नै पर्ने अनि बोल्नै पर्ने आवश्यकता थियो । शहरमा जो हुर्के बढे । तर आफ्नो मातृभाषा नै बिर्सनपर्ने कुनै पनि बाध्यता थिएन मेरा लागि । साच्चै भन्ने हो भने आफ्ना छोराछोरीलाई थारु बोल्नै आउदैन भनेर एक किसिमले गर्व गर्न थालेका थिए हाम्रा अभिभावकले । अझै पनि कतिले त गर्दा हुन् साएद ।
मातृभाषा प्रतिको मोह मलाई धेरै पछि मात्रै जागेको हो । कलेजको अध्ययनको शिलसिलामा म एउटा थारु गाउमा पुगे । थारु नबोली नहुने । थारु बाहेक अन्य भाषा नबुझ्ने मानिसहरु थुप्रै थिए त्यस गाउमा । नेपालीमा केहीथारु शब्द मिसाउदै जानीनजानी अन्तरंग गर्थे । एकदिन नेपाली अलि राम्रै बुझ्ने व्यक्तिसंग म कुराकानी गर्दै थिए । र मैले भने काठमाण्डौ बस्दाकहिल्यै लागेन कि नेपालमा बसोबास गर्नेहरु नेपाली बोल्न जान्दैनन् । पछाडीबाट एक जना युवतीको आवाज सुनियो । भनिन् शहरमा बस्ने थारुले थारु बोल्न जान्दैनन् हामीले पनि कहिल्यै सोच्न सकेनौ । आफ्नै मातृभाषा बोल्न नजानेकोमा अब मलाई हिनताबोध हुनथालेको थियो । अर्काको भाषा सिक्नु त सिक्नु तर यसरी कसैले नसिकोस् किआफ्नै भाषा बिर्सियोस् । आफूले बोल्न सक्ने भाषाको लिस्टमा जति धेरै भाषा थपिए पनि आफ्नै भाषा बोल्न नसक्नुमा अब मैले गर्व गर्ने ठाउ कतै देखिन ।
म शहरमा हुर्के बढे गैर थारु समाजमा । जहा थारु भाषाले मात्रै काम चल्दैनथ्यो । तर आफ्ना आमाबाबुबाट समेत मैले थारु सिक्न सकिन । वहाहरुको मान्यता थियो छोराछोरीलाई थारु सिकाउन हुदैन । एउटा जबर्जस्त मान्यता थियो थारु सिकायो भने उनीहरुको टोनमा पछि सम्म सुधार हुदैन, ट र त छुट्याउन सक्दैनन् ।
तिमीलाई “टिमी”नै भने पनि त त्यो थारु गाउको मौलिकतामा मैले थारुपनको स्वादपाए । शहरमा बसेर नेपाली बोल्दा पनि जबर्जस्ती अंग्रेजी टोन ल्याउनेहरुसंग म त्यो थारु लवजको मौलिकता कतै पनि तुलना गर्ने ठाउ देख्दिन । थारु मात्रै किन नेपालमा बोलिने सबै मातृभाषाका आफ्नै मौलिकता छन् । र तिनको सुन्दर पक्ष भनेकै बोलीमा तिनको आफ्नै लवज हो । भाषा सिक्न सकिएला तर बोलीमा आउने त्यो मौलिक लवज जतिसुकै पैसा तिरेर पनि सिक्न सकिदैन ।
त्यो गाउमा बस्दा म ती युवतीसंग नजिक हुन थालेको थिए जसले मलाई थारु बोल्न नजानेकोमा निकै हिनताबोध गराएकी थिइन् । उनले मलाई गाउ डुलाइन् । हामी संगसंगै जंगल डुल्न गयौ , खोलागयौ । गाउमा रहेको अटुवा चढ्यौ । उनी मसंग धेरै थारु कहिलेकाही नेपाली पनि बोल्थिन् । नेपाली बोलिरहदाको उनको थारु लवजको नेपाली मलाई सुनिरहु लाग्थ्यो । अनुहारले उनीकति राम्री थिइन् भन्दा पनि उनको सबैभन्दा सुन्दर पक्ष उनको बोलीको लवज हो जस्तो मलाई लाग्थ्यो ।
हामी नजिक पनि भैसकेका थियौ अब त । म उनीसंग जिस्किने भैसकेको थिए । कहिले कपाल तान्ने अनि कहिले त हातै तानिदिने सामान्य जस्तै भैसकेको थियो । यसो गर्दा उनी भन्थिन् ना लट्पटाउ ना । वाहयसको मौलिकता । यस्तो होइन कि उनलाई जिस्काइ रहन मन हुन्थ्यो मलाई तर मलाई यो शब्द बारबार सुन्न मन हुन्थ्यो ।आफ्नो मातृभाषा प्रति पलाएको यो मोह देखि कहिले त म आफै चकित हुन्छु । सधै देखिको नेपाली, अंग्रेजी, स्पेनिस भाषाप्रति मेरो लगाव रहेको थियो । कहिल्यै सोच्नै सकिन कि आफ्नो भाषा र त्यसका शब्दहरुले मलाई लठ्ठ बनाउलान् । हुन पनि किन नबनाओस् अरुका भाषाले दिमागसंग कुरा गर्दछन् जब कि मातृमाषा सिधै दिलमा ठोक्किन्छन् । शब्दहरु सुनेर कानले राहत पाउनु अनि तिनै शब्दहरुले मनमा डेरा जमाइरहनु मातृभाषाबाहेक अन्यमा यो पावर कहां ?
मुनामदन मैले सबैभन्दा धेरै पटक पढेको किताब हो । उसो त शिरिषको फूल पनि थुप्रै पटक पढेको छु । विशेषत हाईस्कूल पढ्दा उपन्यास निकै पढिन्थ्यो । उपन्यासमा यति धेरै हराइन्थ्यो, हरेक उपन्यासका पात्र आफै हु जस्तो लाग्थ्यो । थारु उपन्यास कहिल्यै पढिन, भनौ पढ्नलाई छदै थिएन । थारु उपन्यास भैदिए, लाग्छ म थारु परिवेशमै हराउथे । उल्ठा गरिएका किताबहरु पनि थारुमा नपाइने । आफ्नो भाषा बोल्न नजानेकोमा गर्व गर्ने समाजमा कसले थारुमा किताब लेखोस् वा कसैले लेखे पनि त्यो पढोस् ।
आज पनि म थारु बोल्न त सक्छु लेख्न सक्दिन पढ्न सक्दिन । त्यो गाउमै पनि थारु बोल्छन् । जति धारा प्रवाहका साथ तिनीहरु नेपाली पढ्न सक्छन् थारु सक्दैनन् । साएद थारु भाषा केवल बोल्नका लागि मात्रै हो पढ्नका लागि होइन । अझ भनौ पढ्नका लागि थारुमै लेखिएका प्रसस्त पुस्तक छैनन् । थारुमै लेखिएका कुरा पढ्न न त बाध्यकारी नै छन् । बाध्यबनाइएका छन् त केवलबोल्नै नजानिके भाषाका किताबहरु लेखपढगर्न । तीबोल्नै नजानिके भाषाका बिचमा कमसेकम थारु बाहुल्य भएका विद्यालयहरुमा(क से करछुल ख से खटिया) पढाइ दिए खासै धेरै केहि बिग्रिन्छ जस्तो त लाग्दैन ।
नेपालको एउटा सुन्दर पक्ष यो पनि हो कि नेपालको एकतामा विविधता छ । भौगोलिक, संस्कृतिक, भाषिक, भार्मिक विभिन्न विविधताका बिच पनि एकता छ । यहि विविधविविधताका बिच अर्कोलाई सम्मान गर्दै आफ्नो पहिचान जोगाउनु छ । झट्ट हेर्दैमा देखिने पहिचान भनेको पोशाक हो । समाज यति अगाडी बढी सकेको छ कि कुनै विषेश दिन या कार्यक्रमबाहेक सधै पहिचान झल्किने पोशाक लगाउन सम्भव छैन । अब हामीले जोगाउन सक्ने भनेको आफ्नो मातृभाषा न हो । जुन भाषामा अझै ५.८ प्रतिशत जनसंख्याले कम्युनिकेट गर्दछन् ।

(लेखक डेमोक्रेसी रिसर्च सेन्टर नेपालका सिनियर रिसर्चर हुन्।)

सेयर गरौ
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here