रेशम चौधरीका बुबा एमालेकै हुन्ः प्रधानमन्त्री केपी ओली । कानुनी प्रक्रियामा सघाउने र अनसन तोडाउनेबारे छलफल

२२ फागुन, काठमाडौं । कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित राजपा सांसद रेशमलाल चौधरीको मुद्दा र उनले जेलभित्रै थालेको अनसनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र राजपा नेताहरुबीच छलफल भएको छ । सोमवार संसद बैठकपछि राजपा अध्यक्ष मण्डलका पाँच जना अध्यक्षले प्रधानमन्त्रीसँग संसद भवनस्थित उनकै च्याम्बरमा भेट गरेका थिए।

राजपा नेताहरुले चौधरी जनताबाट निर्वाचित भइसकेको र उनले अदालतमा आत्मसमर्पण गरेको सन्दर्भमा अब उनलाई दुःख दिने भन्दा पनि समाधान खोज्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । चौधरीले जेलभित्रै अनसन थालेको भन्दै राजपा नेताहरुले प्रधानमन्त्रीसँग सहयोग मागेको बताइएको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले अदालतको प्रक्रिया चलिरहेको र चौधरीप्रति आफ्नो कुनै पुर्वाग्रह नरहेको बताएका थिए । अदालतले गर्ने फैसला सबैले मान्ने तर त्यसअघि अनसन टुंग्याउन पहल गर्ने बारेमा प्रधानमन्त्रीसँग राम्रो कुराकानी भएको राजपाका एक नेताले बताए ।

छलफलमा प्रधामन्त्रीले रेमश चौधरीको परिवारनै एमाले भएकाले उनको बारेमा राजपा नेताहरुलाई भन्दा आफूहरुलाई बढी जानकारी रहेको समेत बताएका थिए । रेशम चौधरीका पिता लालबीर चौधरी एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेको प्रसंग पनि छलफलमा आएको थियो । लालबीर रेशमले जितेको क्षेत्र कैलाली १ (क) बाट एमाले उम्मेदवार थिए ।

त्यसो त रमेशलाल चौधरी पनि एमालेकै कार्यकर्ता थिए । ०५१ सालको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा उनी एमाले सम्बद्ध अनेरास्ववियुबाट रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए । उनी अनेरास्ववियुको पनि नेता थिए । उनको परिवार एमाले भए पनि पछिल्लो समय राजावादी हुँदै मधेशवादी आन्दोलनमा लागेका हुन् ।

प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक नेताले भने–रेशमको परिवार एमालेकै सदस्य हुन् । उनका बुबा हाम्रो उम्मेदवार थिए तर जित्न सकेनन्, छोरालाई जनताले जिताइदिए,हामी जनमतको सम्मान गर्छौं तर अदालती प्रक्रियालाई सबैले सघाउनुपर्छ।

रमेश चौधरीमाथि टीकापुरको सामुहिक नरसंहारको मुद्दा लागेकाले अदालतको आदेश पर्खिन उनले आग्रह गरेको बताइएको छ । वार्तामा सहभागी एमाले नेता सुवास नेम्वाङले चौधरीको बारेमा राजपा नेताहरु र प्रधानमन्त्रीबीच छलफ भएको र कानुन बमोजिमको प्रक्रियामा दुवै पक्ष सहमत रहेको बताए । प्रधानमन्त्रीले यसबारेमा आफ्नो तर्फबाट नेम्वाङले नै डिल गर्ने जानकारी राजपा नेताहरुलाई दिएका छन् ।

Share This

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here