सबैको घरमा माघीको उल्लास तर टीकापुर घटनाका पीडितहरुको माघी कसरी मनाउने चिन्तामा ।

 किशोर चौधरी (सरिखाँ )।। थारु समुदायको महान पर्व एवं नयाँ बर्ष माघी मुखैमा आईसकेको छ । सबै माघीको तयारीमा पनि जुट्न थालिसकेका छन् । तर यो सुखद घडीमा कसले सम्झेको छ जो थारु समुदायका लागि सधैं राज्यसंग लडे । माघी कसरी मनाउदैछन् अनि उनीहरुको परिवारको हालत कस्तो छ कसले मतलब राखेको छ । हो म आज उनै बाँच्न संघर्ष गर्दै गरेका दुःखी परिवारको बारेमा बडो कायरता पुर्वक आफ्नो कलमलाई डोर्याउने प्रयास गर्दै छु । हो म कलम जीबि कलमकै माध्यमबाट आफ्नो जीविकोपार्जन गरेको छु र कलमकै माध्यमबाट अरुलाई न्याय दिन प्रयत्न पनि गरेको छु । तर आज जुन पात्रको विषयमा कलम घिसार्ने कोसिस गर्दै छु बिल्कुल फरक छ र ती पात्रहरुलाई कलमबाट भन्दा पनि प्रत्यक्ष आफैले पीडितको घाउमा मलमपट्टी लाउन नसक्दा साच्चै आफैलाई कायर ठानेको छु । हो त्यही घटना अर्थात वि.सं. २०७२ साल भदौ ७ गतेको । थारु समुदाय आफ्नो हक र अधिकारका लागि राज्यसंग लड्दै थियो । त्यही दिन घटनाले यस्तो रुप लियो जहा ७ जना प्रहरी र एक बालकको मृत्यु हुन पुग्यो । हो राजनीतिक आवरणको घटना थियो त्यो । जब जब देश परिवर्तनको संघारमा पुगेको छ अनि यस्ता घटना पटक पटक भएको पनि छ । राज्यले ती घटनालाई राजनीतिक घटना भन्दै दोषीलाई अबिर फूलमाला लगाएर स्वागत गर्छ । तर टीकापुर घटनालाई राज्यले सधैं देशद्रोहको संज्ञा दिईरहयो । र घटनाको योजनाकार भन्दै दुई दर्जन निर्दोषलाई कैदी बनाएर सजाय पनि दिईरहेको छ ।

खैर यी सब कुरा अहिले छोडौ । प्रसंग जोडौ माघीको मुखमा ती कैदी जीवन निर्वाह गरिहेको परिबारका बारेमा । टीकापुर घटनाको दोषी देखाएर राज्यले अझै २५ थारुलाई कैदीबनाएर जेलमा कोचिरहेका छन् । उनीहरु बर्षौदेखि परिबारबाट टाढा छन् । त्यही भएर त पीडैपीडा बिच जीवन निर्वाह गर्न बाध्य छन् उनीहरुको परिबार । आज थारु समुदायको महान पर्व माघी घरघरमा आएको छ । सबैमा माघीको खुशियाली छाएको छ तर त्यो परिवार जहाँ माघीले पटक्कै छोएको छैन् । छोयोस पनि कसरी आज खाए भोली के खाउ, भोली भए पर्सीको चिन्ता, छाक टार्नै धौ धौ छ । सबैले मिठो मसिनो खाने खाएर माघी मनाउने सोच बनाएको छन् होला तर ती परिवारमा माघी कसरी मनाउ चिन्ता छ अहिले ।

जेलमा पर्ने अधिकांश घरमुली छन् जसको साहारामा त्यो परिवार चलेको थियो । दुई बर्ष देखी अभिभावक जेल जीवन विताउदा परिवारको हालत के होला सोचनिय विषय हो । घरमा लालाबाला र श्रीमती बाहेक कोही छैन कतिपय परिवारमा । आर्थिक अभावकै कारण छोराछोरीलाई स्कुल पठाउन सकेको छैन् । श्रीमान् जेल जिबन बिताईरहेका रिमा चौधरीकी छोरी एस.एल.सी. पास गरेकी छिन तर अगाडी पढ्न पैसा छैन उनीसंग । त्यसैले त उनी आज लेवर काम गर्न बाध्यछिन् । रामदैयाको हालत पनि उस्तै छ कमाउने श्रीमान् जेलमा छन् छोराछोरी हुर्काउनु छ, पढाउनु छ तर पैसा छैन् । बच्चाको स्कुल फी तिर्न सक्ने अबस्थामा छैनिन् उनी । कसैको ऋण तिर्न नसकेर घरबारै लिलाम हुने स्थितिमा पुगेका छ । जेल जीवनमा रहेका प्रायको हालत यस्तै यस्तै छ । अनि माघीको के कुरा माघी त अहिले उनीहरुको लागी सपना जस्तै बनेको छ ।

थारु समुदायको हक अधिकार दिलाउछु भन्ने र आफुलाई मसिहा ठान्ने संघसंस्थाहरु कानमा तेल हालेर बसेका छन् । थारु कल्याणकारिणी सभा होस्, थारु विद्यार्थी समाज या अन्य थारुको नाममा च्याउसरी उम्रेका विकासे संघसंस्थाहरु नै किन नहोस्, सबै रमिता हेर्नुबाहेक कसैले केही गर्न सकेका छैनन् । यहाँ त माघीको नाममा राजनीति गर्न जानेका छन् सबै । मेरो गोरुको बाह्रै टक्का भन्दै आफैं आफैंमा घमण्ड देखाउछन्, दम्ब देखाउछन् तर मिलेर अगाडी बढ्न सक्दैनन् हाम्रो समुदाय । जब माघी आउछ अनि त्यसपछि जुर्मुराउछन् व्यक्ति र संघसंस्थाहरु । अहिले पनि त्यस्तै देखिएको छ । आज एउटा दलको भातृसंगठनले सिङ्गो देशलाई हल्लाएर राखेको छ हामीले देखेका छौ । राष्ट्रपति, प्रधानमन्त्री विरुद्ध खुल्ला सडकमा ओर्लेर आन्दोलन गर्छन । सधैं थारु समुदायको हक र अधिकारका लगि लडेका रेशम चौधरी चुनाव जितेर पनि राज्यले हराउन खोज्दैछ ।

२५ जना निर्दोष थारुहरु कालकोठरीमा जीवन बिताईरहेका छन् खोई त कुनै भुमिका ? यति सम्म मौन छौ की हामी कसैको चिन्ता र चासो नै पुगेको छैन् त्यहाँसम्म । चित्त त दुख्छ माघीको नाममा मात्रै राजनीति गर्न जानेका छौ भनेपछि तर देखिएको पनि त्यही छ नी होईन र ? जेल जीवन बिताईरहेका परिवारको माघी हुदैन ? हाम्रो दायित्व बन्दैन उनीहरुको माघी मनाउने बाताबरण बनाईदिन ? किन निर्लज्जताको खेती गर्छौ ?

थारु आन्दोलनको ठेक्केदार सम्झिनेहरु आज निरिह बनेर कुन दुलोमा लुकेर बसेका छन् कुनै अत्तोपत्तो नै छैन् । यदि आन्दोलन सफल हुँदो हो त कथित आफुलाई महान सर्वेसर्वा ठान्नेहरु सवै श्रेय आफैमाथि लाद्थे होलान । तर विडम्बना जसको आड र भरोसामा आन्दोलनमा उत्रे अगाडी बढे तिनै निर्दोषहरु आज जेल जीवन या त निर्वासित जीवन बिताईरहेका छन् । यी पीडा मानवता हराएका हाम्रा ती कथितहरुले देखेका छैनन् ? कोही मन्त्री बने, कोही सरकारी ढुकुटीमा रमाउँदै छन्, कोही एन.जि.ओ, आइ.एन.जिओ.को पैसामा रमाउँदै छन् ।

तर ती बलीको बोका बनेकाहरु त यो पुष माघको कठ्याङ्ग्रीडो जाडोमा जेल जीवन विताईरहेका छन् कसलाई प्रवाह छ ती निर्दोषहरुको ? ती निर्दोहरुलाई बलिको बोको बनाएर आफ्नो स्वार्थ पुर्ती त गरिहाले तर ती हक अधिकार दिलाउन सपना बोकेर आन्दोलनमा होमिएकाहरुको सपना त अब सपनामै सिमित हुने भयो हैन त ? आज नेपाली समाजमा निकै पिछडिएको समुदाय मध्ये थारु समुदाय पनि एक हो । तर नेतृत्व गर्ने नेताहरु थारु समुदायको हक अधिकार स्थापित गर्न देखाएको हुंकार एकाएक स्खलित भएको छ भन्दा नमज्जा लाग्ला नी ।

अन्तिममा, मेरो लेख कसैप्रति लक्षित होईन, कसैलाई पुर्वाग्रही बनाएर लेखेको लेख पनि होईन । मेरो लेखको आशय यति हो कतिन्जेल आँखा चिम्म गरेर बस्छौ अब त उघारौ हाम्रा आँखाहरु ।
लेखक थारुपत्रकार संघ नेपालका महासचिब हुन् ।

Share This

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here