माघ या माघी, किन बुझ्न खोजेन कसैले माघको महत्व ?

 

पौष ३०, इन्दु थारु ।। माघीको चर्चा अलि वेशी सुन्न थालेको धेरै भएको छैन । यद्यपी थारु समुदायले खासमा माघ मनाउने गर्दछन् माघी होइन । भलैे पूर्वी तराईका थारुहरुले माघ १ गतेलाई माघी भन्दछन् । कसैले माघे संक्रान्ति भन्दछन् । पश्चिम तराईका थारु समुदायमा भने माघ नै भन्ने चलन छ । पश्चिम थारु गाउघरमा थारुपनाको मनाइने माघ, अहिले पश्चिमतिरै पनि माघ लाई अप्रभंस गरि माघी पर्व भन्ने चलन बढेको छ । माघी महोत्सव मनाउने चलन त अझै गाउ, शहर अनि राजधानीमा व्यापक बन्दै गएको छ ।

माघमा सबेरै उठेर नुहाउन पर्छ । घरका अभिभावकहरु नुहाउनु हुन्थ्यो, सानो छदा म भने चिसोमा त्यो पनि सबेरै नुहाउन सक्दिन थिए । हजुरबुवाले नुहाएर नल्कामा चढाएको पैसा भने खुशीसाथ लिन्थे । वहाले बाडेको प्रसाद पनि मज्जाले खान्थे ननुहाइकनै । सबैले नुहाइसकेपछि आंगनमा दनदनी बलेको आगो छेउछाउ सबैजना बस्थ्यो । घरमा पाहुनाहरु आउनेजाने क्रम चल्दथ्यो । छरछिमेक र विशेषगरी गोतियारहरु आउथे घरमा हजुरआमा हजुरबुवालाई ढोग्न र आशिर्वाद लिन । आफ्ना गोतियारहरुका घर नगई म भने हाम्रै घरमा आउनेहरुलाई त्यही ढोगी दिन्थे । आगो ताप्दै सबैसंगै बसेर ढिक्री खान्थ्यौ । सानो छदा मैले मनाएको माघको सम्झना यति हो मेरो । पछि त दशै तिहारको रौनकताले मलाई छाडेजस्तै, माघले पनि कहिल्यै उत्साह थपेन । तर थारु समुदायका रीतिसंस्कृतिप्रति भने मेरो मोह अझ धेरै बढेर गयो ।

स्कूलमा दशै र तिहारका बारेमा रट्न पथ्र्यो । दशै र तिहारका बारेमा निबन्ध लेख्न सिकाइन्थ्यो, परीक्षामा पनि त्यही लेख्न पथ्र्यो । रट्न किन पथ्र्यो भने निबन्ध जुन तरिकाले लेख्न सिकाइएको थियो, त्यो मेरो परिवार, मेरो समुदाय भन्दा बिलकुल फरक तरिकाको हुन्थ्यो । जस्तो दशैमा आफूभन्दा ठूलाहरुसंग टिका थापेपछि आशिर्वाद र दक्षिणाका रुपमा केही पैसा पनि थाप्छन् भनेर सिकाइयो । म छक्क पर्थे किनभने मेरो परिवार र मेरो गाउघरमा दक्षिणा दिने चलन थिएन । तिहारमा काग पूजा, गाई पूजा, कुकुर पूजा सुन्दा अनौठो कहिले त रमाइलो पनि लाग्थ्यो । जुन मेरो घरपरिवारमा यी सब कुराको चलन थिएन । सेलरोटी, फिनी रोटी थरीथरीको रोटी कहिल्यै देखेको थिइन, न त सुनेकोनै थिए । परीक्षामा राम्रो अंक प्राप्त गर्नका लागि मैले रट्नै पथ्र्यो । बरु उल्टै आफूले खादै आएको घोघी, सुंगुरको मासु मैले खान छोड्न पर्यो । किनभने घोंघी खादा शंखेकिरा खाने, सुंगुरको मासु खाने भन्दै हेपिन पथ्र्यो । मैले खान छोडे पनि हेपिने क्रम जारीनै रहेपछि मैले पुन खान सुरुवात गरे, यसै हेपिनु छ उसै हेपिनु छ भन्दै । माघीमा तीलको लड्डु, चाकु लगाएतका परिकार खाने गर्दछन् भन्ने धेरै पछि मात्रै थाहा पाए । थाहा पनि कसरी पाउनु , सधै ढिक्री, खरिया खाएर जो माघ मनाएको थिएं ।

नेपालीहरुको महान पर्व दशै भनेर पढाइयो, रटाइयो । खासमा जुन हिन्दुहरुको र केही जाती विशेषको महान पर्व थियो । देशमा थरिथरिका मानिस बसोबास गर्दछन् र ति सबैको आ आफ्नै महान पर्व छ, कहिल्यै सिकाइएन । न त आफ्नो समुदायको महान् पर्वको बारेमा लेख्न सिकाइयो । मेरो समुदायको महान पर्वको बारेमा निबन्ध लेख्न भनिएको भए, मैले जरुर माघको बारेमा लेख्थे । माघ किन, कहिले, कसरी मनाइन्छ, यसको महत्व के हो ? यि बारेमा जरुर सोधखोज गर्दै गहिराइसम्म पुग्थे । तर अह राज्य कति सम्म विभेदकारी छ भने, मलाई मेरो संस्कृतिको बारेमा पढ्न, जान्न बुझ्न समेतमा अवरोध खडा गरिरह्यो ।

सानो छदां मनाएको माघको सम्झना त्यति स्पष्ट छैन । अहिले मनाइने माघ भने उहिलेको भन्दा धेरै फरक भइसक्यो । माघलाई बुझ्ने, बुझाइने, मनाउने र प्रचार गर्ने शैली पनि निकै भिन्न भइसक्यो । माघलाई ढिक्री खाने, सेवा लाग्ने,ढोग गरि आशिर्वाद लिने, विशेष दिनका रुपमा र उकुवार भेट गर्ने, एकले अर्कोलाई अंगालोमा हाल्ने जस्तै मनाइन्छ भन्ने कुराको चर्चा प्राय कमै गरिन्छ । तर माघलाई (माघको गुरीगुरी जार) भन्दै बुझिने र प्रचार गरिने गरेको भने पर्याप्त मात्रामा पाइन्छ । माघलाई जिता मार्ने र सुंगुरको मासु खाने, ढिक्री र उकुवारभेट संग जोडेर किन हेरिदैन, (माघको गुरीगुरी जार) संग मात्रै किन जोडियो, बसह गर्ने ठांउ प्रसस्त मात्रामा छन् । माघमा डफला (डम्फु) बजाउदै मागर गाएको सुन्न अब भाग्यमानीनै हुनपर्छको स्थििति आइसक्यो । अहिलेको पुस्ता भने संस्कृति जोगाउने नाममा (माघको गुरीगुरी जार) मै हराएका छन् । अनि माघको जुन असली उपयोदिता थियो, त्यो जीवन मरणको दोसाधमा पुगिसक्यो ।

माघ १ गते एक दिन मेरो महान पर्वलाई जान्ने बुझ्ने अनि रमाउने अवसर समेत जुराइदिएन राज्यले । पुसको अन्तिम दिन थारु समुदायका निम्ति कति महत्वपूर्ण छ त्यो बुझ्ने कुरा त परै जाओस् । पुसको अन्तिम दिन, थारु समुदायको जिता मार्ने दिन, अर्थात सुंगुर ढाल्ने दिन । यहिबाट थारु समुदायको माघ सुरु हुन्छ । तर यस दिनको महत्व थारु बाहेक राज्यले त कहिल्यै बुझ्नै चाहेन । त्यसैले होला न थारु समुदायले पुसको अन्तिममा माघ मनाउने अवसर पायो, न माघ १ गतेनै । माघे संक्रान्तिको नाममा बरु एक दिन बिदा दियो तर माघको नाममा बिदा दिइएन । त्यही अरुको (माघे संक्रान्तिको) नाममा दिइएको बिदामा, मेरो माघको लागि बिदा दिइएको भ्रममा पर्दै मैले पनि रमाइदिए ।

सेयर गरौ
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here